नेपालको वर्तमान आर्थिक र सामाजिक परिस्थितिले युवाहरूमाझ ठूलो प्रश्न उठाएको छ – “भविष्य यहाँ सुरक्षित छ कि छैन ?”। रोजगारीका अवसर अभाव, महँगी वृद्धि, राजनीतिक अस्थिरता र नीतिगत भष्ट्रचारले गर्दा धेरै युवाले आफ्नै देशमा भविष्य सुरक्षित देख्दैनन्। यसको प्रत्यक्ष परिणाम स्वरूप उनीहरू वैदेशिक रोजगारतर्फ आकर्षित भइरहेका छन्।
देशभित्र रोजगारीका अवसर अझै पनि सीमित छन्। कृषि, उद्योग र पर्यटनजस्ता क्षेत्रमा सरकारले पर्याप्त लगानी गर्न सकेको छैन। उत्पादनशील क्षेत्र कमजोर छ र निजी क्षेत्रमा पनि दीर्घकालीन रोजगारीको सुरक्षा छैन। पढाइ सकेर पनि काम नपाउने अवस्थाले विद्यार्थीहरू निराश बन्छन्। यही कारणले जापान, कोरिया, युरोप वा मध्यपूर्वतिर जाने आकांक्षा बढ्दै गएको छ। कतिपयले अध्ययन पूरा नगरी नै विदेशिने निर्णय गर्छन्। विदेश गएर युवाले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्रलाई अहिले पनि टेकेर राखेको छ। तर यसको दीर्घकालीन असर खतरनाक हुन सक्छ। उत्पादनशील क्षेत्र अझै कमजोर हुन्छ, श्रमशक्ति बाहिरिने क्रम बढ्छ र देशभित्र विकासको आधार कम हुन्छ।
नयाँ सरकारले सत्ता सम्हालेसँगै युवा पुस्तामा केही आशा जागेको थियो। तर व्यवहारमा परिणाम देखिन सकेको छैन। Generation Z अर्थात् नयाँ पुस्ताका युवाहरूले Zen Z Movement मार्फत सरकारलाई स्पष्ट सन्देश दिएका छन् – अब पुराना शैलीका भाषण वा वाचा होइन, ठोस काम र अवसर चाहिन्छ। Zen Z आन्दोलनले पारदर्शी शासन, भ्रष्टाचार नियन्त्रण, युवालाई आफ्नै देशमै रोजगार दिने नीति, शिक्षा प्रणाली सुधार, उद्यमशीलता प्रोत्साहन र वैदेशिक रोजगारमा निर्भरता घटाउने योजना माग गरेको छ।
यो समस्याको समाधान केवल छोटो अवधिको राहत कार्यक्रमले सम्भव छैन। सरकारले दीर्घकालीन नीतिहरू व्यवहारमा उतार्नुपर्छ। उद्योग, कृषि, ऊर्जा, पर्यटन र प्रविधि क्षेत्रमा लगानी बढाएर रोजगार सिर्जना गर्नुपर्छ। विश्वविद्यालय र कलेजहरूलाई रोजगारमूलक पाठ्यक्रम बनाएर, नयाँ व्यवसाय सुरु गर्न चाहने युवालाई पूँजी, तालिम र बजार सुविधा दिने नीति ल्याउनुपर्छ। विदेश जान चाहनेहरूलाई सुरक्षित रोजगारी सुनिश्चित गर्नु जरुरी भए पनि लक्ष्य भने देशभित्र अवसर सिर्जना गर्नु नै हुनुपर्छ। भ्रष्टाचार नियन्त्रण र पारदर्शिता बिना रोजगारी सिर्जनाको लक्ष्य
रोजगारी र वैदेशिक रोजगारतर्फको आकर्षण केवल व्यक्तिगत रोजाइ होइन, राष्ट्रको संरचनात्मक समस्या हो। जबसम्म देशभित्र स्थिर राजनीति, स्पष्ट नीति र उत्पादनशील क्षेत्रमा ठूलो लगानी हुँदैन, तबसम्म युवा पलायन रोक्न सकिँदैन। अब आवश्यक कुरा भनेको सरकारको साहसिक निर्णय हो – युवाले आफ्नो भविष्य आफ्नै देशमै सुरक्षित देख्न सक्ने वातावरण बनाउनु। रोजगार सिर्जना गर्ने उद्योग र उद्यमशीलता नीति लागू गर्ने, शिक्षा प्रणालीलाई व्यवहारिक बनाउने र शासन प्रणालीलाई पारदर्शी बनाउने कदम चाँडै चाल्न सके मात्र वैदेशिक रोजगारीको आकर्षण घट्नेछ।